एट्लेटिको म्याड्रिडलाई लाइप्जिगको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाइनलमा आज (बिहीबार) राति जर्मन क्लब आरबी लाइप्जिग र स्पेनिस एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । लाइप्जिग र एट्लेटिको पहिलोपटक आमने–समने हुन लागेका हुन् ।

डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुललाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको एट्लेटिको जर्मन प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ । आफ्ना दुई खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि मानसिक दवावमा रहेको एट्लेटिको त्यसलाई भुल्दै खेलमा केन्द्रित हुनेछ ।

लाइप्जिगविरुद्ध पोर्चुगिज युवा स्टार जोओ फेलिक्स नै मुख्य हतियार हुनेछ । उनलाई यान्निक कारास्को, सउल निग्वेज, कप्तान कोकी, मार्काेस लोरेन्टे, जोस जिमिनेज र जान ओब्लाकले साथ दिनेछन् । एट्लेटिकोले अहिलेसम्म जर्मन क्लवविरुद्ध खेलेका नकआउट खेलमा सधैं जित निकालेको छ ।

यता, साविकको उपविजेता इंग्लिस क्लब टोटेनहम हट्सपरलाई पाखा लगाउँदै पहिलोपटक क्वाटरफाइनलमा स्थान बनाएको लाइप्जिग अझै अघिल्लो चरणमा पुग्ने दाउमा हुनेछ । तर, मुख्य खेलाडी टिमो वेर्नरको अभाव टोलीलाई खड्कन सक्नेछ । वेर्नर जर्मन बुन्डेस लिगा सकिएलगत्तै इंग्लिस क्लब चेल्सी पुगेका छन् ।

लाइप्जिगका प्रशिक्षक जुलियन नेगल्सम्यानले वेर्नर नहुदा टोलीमा कुनै असर नपर्ने बताएका छन् । प्रशिक्षक नेगल्समनले एट्लेटिकोविरुद्धको खेल आफ्ना युवा खेलाडीका लागि राम्रो अनुभव हुने बताए ।

पछिल्लो ६ बर्षमा दुईपटक फाइनलमा पुगेको एट्लेटिकोविरुद्ध बुन्डेसलिगा क्लबले जित निकाल्न बढी नै मिहनेत गर्नुपर्नेछ । एट्लेटिकोको बलियो रक्षापङ्तिविरुद्ध लाइप्जिगको आक्रमक राणनितीको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *