हाल्याण्ड डर्टमण्डमै प्रतिबद्ध

एजेन्सी । बोरुसिया डर्टमण्डका फरवार्ड ईर्लिङ हाल्याण्डले आफु जर्मन क्लबमै प्रतिबद्ध रहेको बताएका छन् ।आगामी समर ट्रान्सफरमा म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडसंग जोडिएका हाल्याण्डले आफु डर्टमण्डमै बस्ने प्रतिबद्धता दोह¥याएका हुन् ।

उनले आफ्नो लक्ष्य डर्टमण्डमै बसेर बुन्डेसलिगाको उपाधि जित्नु रहेको बताए ।उनले भनेका छन्, ‘मेरो उद्धेश्य भनेको यही रहनु हो । र यस क्लबबाट उपाधि जित्नु हो ।’

नर्वेजियन फरवार्डलाई डर्टमण्ड जानु अघि युनाईटेडले समेत अनुबन्धनको प्रयास गरेको हो । रेडबुल साल्जबर्गबाट च्याम्पियन्स लिगमा हाल्याण्डले गरेको प्रर्दशनका आधारमा डर्टमण्डले अनुबन्धनको प्रयास गरिरहेको थियो ।

युनाईटेडले डर्टमण्डकै विङ्गर जाडोन साञ्चो र एस्टन भिल्लाका ज्याक ग्रिलिस अनुबन्धमा जोड गरिहेको छ । युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले आफ्नो खेलाडीलाई चेतावनी दिदै समर ट्रान्सफरमा एक फरवार्ड अनुबन्धन गर्न सकिने बताएका थिए । उनले खेलाडी सरुवा बजारमा फरवार्ड अनुबन्धन गर्न आफु तयार रहेको बताएका थिए ।

हाल्याण्ड अहिले समेत युनाईटेडको निगरानीमा छन् । २० बर्षिया फरवार्डले गत सिजन डर्टमण्डका लागि १८ खेलमा १६ गोल गरेका थिए । तर उनले आफ्नो भविष्य डर्टमण्डमै रहेको दाबी गरेका छन् ।

‘मसंग सन् २०२४ सम्मको लामो सम्झौता रहेको छ । बुन्डेसलिगाको उपाधि जित्नु मेरा लागि ठुलो सपना हो । उपाधिको खुसीयाली यहाँका समर्थकसंग मनाउन चाहन्छु ।’ उनले एक अन्तरवार्तामा भनेका छन् ।‘हामीसंग च्याम्पियन हुने क्षमता छ । तर एक्लै हिडेर हुदैन । बायर्न म्युनिखले स्थिर प्रर्दशन सहित आफुलाई अलग रुपमा अघि बढाएको छ ।’ उनले भनेका छन् ।

डर्टमण्डले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । बायर्नले लगातार आठौं पटक लिग उपाधि उचालेको छ ।डर्टमण्ड यतिबेला साञ्चो र हाल्याण्डलाई क्लबमै राख्न निकै संघर्ष गरिरहेको देखिन्छ । युनाईटेडले साञ्चोलाई मुख्य प्राथमिकतामा राखेर अनुबन्धनको प्रयास अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *