इम्मोबिले चम्कँदा लाजियोको सहज जित

एजेन्सी – युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि लाजियोले इटालियन सिरी ‘ए’ मा ब्रेसियामाथि २–० को सहज जित निकालेको छ ।

लाजियोले घरेलु मैदानमा बुधबार राति भएको खेलमा रेलिगेसनमा परिसकेको ब्रेसियामाथि सहज जित हात पार्दा अर्काे गोल जोआक्विन कोरेराले गोल गरे । खेलको १७औं मिनेटमा सिरो इम्मोबाइलको पासमा जोआक्विन कोरेराले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलभर नै ब्रेसियालाई दवावमा राखेको लाजियोले अर्काे गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो । ८२औं मिनेटमा जोआक्विनको पासमा सिरोले गोल गर्दै लाजियोलाई २–० को सहज जित दिलाए ।

सिरोले यो सिजन सिरी ‘ए’ मा ३५ गोल गर्दै युरोपियन गोल्डेन बुट जित्ने सम्भावनालाई बलियो बनाएका हुन् । उनले जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई एक गोलले तथा युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई चार गोलले पछि पारिसकेका छन् ।

लेवान्डोस्कीको ३४ तथा रोनाल्डोको ३१ गोल रहेको छ । सिरी ‘ए’ मा अझै एक चरणको खेल बाँकी रहँदा सिरोले अझै अग्रता बढाउन सक्नेछन् । रोनाल्डोको पनि सम्भावना जीवितै छ ।

जितसँगै चौथो स्थानमा रहेको लाजियोले तेस्रो स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ । दुवै टोलीको समान ७८ अंक रहेपनि गोल अन्तरमा लाजियो पछि छ । पराजित ब्रेसिया २४ अंक जोडेर १९औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *