पहिलो हाफमा एटलेटिको र लाइप्जिगको बराबरी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच जारी दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

खेलको छैटौं मिनेटमा नै लाइप्जिगले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर मार्सेल हाल्सटनबर्गले पेनाल्टी क्षेत्र भित्रबाट गरेको भली प्रहारले पोस्टको दिशा लिन सकेन । ११ औं मिनेटमा रेएटलेटिकोका नान लोडीको लामो फ्रिकिकमा स्टेफान साभिचको हेडरलाई गोलरक्षक पिटर गुलाचीले सहजै बचाए ।

१४ औं मिनेटमा गोलरक्षक गुलाचीले यानिक फरेरा करास्कोको प्रहारलाई विफल पारे । २१ औं मिनेटमा करास्कोकै फ्रिकिकलाई हाल्सटनबर्गले क्लियर गर्दै सम्भावित खतरा टारे । खेलको ३४ औं मिनेटमा हेडरको प्रयास गर्ने क्रममा एटलेटिको म्याड्रिडका स्टेफान साभिच र हाल्सटनबर्गको टाउको जुध्दा चोटका कारण केहीबेर खेल रोकिएको थियो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा लाइप्जिगका डायोट उपामेकानोले कर्नरबाट आएको बलमा प्रहार गरेको हेडर गोलरक्षक यान ओब्लाकले बचाए । लगत्तै लोडीको फ्रिकिकमा साभिचको हेडरले पोस्टको दिशा लिन सकेन । पहिलो हाफमा लाइप्जिगले बल पोसेसनमा पकड बनाएपनि एटलेटिको काउन्टर अट्याकमा आक्रमण बुन्न सफल भइरहेको छ ।

यस खेलको विजेताले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ । पीएसजीले अघिल्लो दिन एटलान्टालाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *